विश्व बुद्धिचाल महासंघ (फिडे) सँग आबद्ध नेपाल बुद्धिचाल महासंघको पाँचौं पूर्ण बैठक शुक्रबार काठमाडौंको बानेश्वरमा “बैठक सञ्चालन कार्यविधि” पास गरेर सम्पन्न भएको छ।
अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सम्पन्न उक्त बैठकले कोषाध्यक्ष तारा बहादुर रानाभाटले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गर्नुका साथै नयाँ वर्षको वार्षिक कार्यक्रम समेत तय गरेका छन्। यस बैठकबाट अंग्रेजी क्यालेण्डर अनुसार मेल गर्ने अभिप्रायले गत वर्षको पूर्व घोषित वार्षिक कार्यक्रम अन्तर्गत ९० प्रतिशत काम पूरा गरेको निष्कर्ष निकालेका छन्।
नेपाल बुद्धिचाल महासंघले महासंघसँग संयुक्त रुपमा विभिन्न राष्ट्रिय प्रतियोगिताहरु सफलताका साथ आयोजना गरेकोमा ललितपुर स्पोर्ट्स क्लब ललितपुर, नाइट चेस क्लब झापा, अन्नपूर्ण माध्यमिक विद्यालय काठमाडौं, भक्तपुर जिल्ला बुद्धिचाल संघ भक्तपुर , बेदकोट नगरपालिका वडा नं. ८ कञ्चनपुर, लुम्बिनी इभेण्ट मानेज्मेण्ट लुम्बिनी, धादिङ्ग जिल्ला बुद्धिचाल संघ धादिङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ।
गत वर्षका प्रतियोगिता मध्ये ७ औं राष्ट्रिय क्लब टिम च्याम्पियनसिप, ७ औं राष्ट्रिय एमेच्योर चेस, ५ औं राष्ट्रिय जुनियर, २४ औं राष्ट्रिय बी खुल्ला तथा १० औं महिला बी चेस, तेस्रो नेशनल ब्लिट्ज तथा र्यापिड चेस, २४ औं नेशनल चेस, छैटौं राष्ट्रिय सिनियर भेट्रान चेस प्रतियोगिताहरु सम्पन्न भएका छन्।