त्रिभुवन आर्मी क्लब मधेश प्रदेशलाई हराउँदै जय ट्रफी मेन्स एलिट कपको फाइनल प्रवेश गरेको छ । पाँचौ खेलमा आइतवार आर्मीले मधेशलाई ८ विकेटले पराजित गरेको हो ।
दोस्रो इनिङमा २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गरेको थियो । पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको थियो । मधेश पहिलो इनिङमा १ सय २३ रनले पछि पर्दै फलोअनमा परेको थियो ।
फलोअनमा परेर लगत्तै दोस्रो इनिङको ब्याटिङ गरेको मधेशले १ सय ५० रनमा सबै विकेट गुमाएको थियो । मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । त्यसपछि २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।
तृत राज दासले १३, इमरान शेखले नटआउट ८ र बसिर अहमदले नट आउट ४ रन जोडे । मधेशका लागि प्रदिप पासवानले २ विकेट नै आफ्नो नाम गरे ।
दोस्रो इनिङमा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे । कप्तान हरिशंकर शाह २५, अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए ।
आर्मीका लागि बसिर अहमदले ४, साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए । त्यसअघि शनिवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए । उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए ।
भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए । ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिएका थिए।
पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी तेस्रो जितका साथ फाइनल पुगेको छ । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्नेछन्।
नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको नतिजापछि फाइनल पुग्ने दाेस्राे टोली टुंगो लाग्नेछ। पुलिस र बागमतीको खेल जनकपुरमा जारी छ। मधेशले २ खेलमा हार तथा १ मा बराबरी साथ तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।