नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा आगामी चैत दोस्रो साता राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।
आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ८ र ९ गते हुने जानकारी गराएको हो ।
दुई दिन सञ्चालन हुने प्रतियोगितामा क्लाइम्बिङको तीन विधा मध्य लिड र बोल्डर गरी दुई विधामा प्रतिस्पर्धा गराइने एसोसिएसनका अध्यक्ष रमेश पौडेलले जानकारी दिए ।
राष्ट्रिय स्तरको खुल्ला प्रतियोगिता भएको हुनाले राष्ट्रिय खेलाडी र १४ वर्षमाथि उमेर भएका ईच्छुक खेलाडीहरुले भाग लिन पाइने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तराष्ट्रिय महासंघ आईएफएसीको नियम र मापदण्ड अनुसार संचालन गरिनेछ ।
प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड हुने र त्यसबाट महिला र पुरुषमा ८-८ खेलाडी फाइनल राउण्ड छनोट गरिनेछ । फाइनल राउण्ड दोस्रो दिन हुने आयोजकले जनाएको छ ।
महिला तथा पुरुषको फाईनल राउण्डको प्रतिस्पर्धापछि उनीहरुले पाएको अंकको आधारमा विजेता उपविजेता र तेस्रो स्थानमा आउनेको घोषणा गरिनेछ । विजेताहरुलाई पुरस्कार स्वरुप नगद सहित मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा करिब ६० खेलाडी सहभागी हुने अपेक्षा छ । प्रतियोगिताका प्रतिस्पर्धा ठमेल स्थित एस्ट्रेक र काठमाडौं स्पोर्ट्स क्लाईम्बिङ सेन्टर मध्य कुनै एक स्थानमा आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता संचालनको अवधिमा सुरक्षाको प्रत्याभुति हुने गरि भैपरि आउने शारीरिक समस्या, जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागि खेलाडीहरु तथा खेल प्राविधिक व्यक्तिहरुको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुल उद्देश्य क्लाईम्बिङ खेल र यसमा आवद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक व्यक्ति र अन्य पक्षहरुको मनोवल उच्च बनाउने र यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार प्रसार गरि राजश्वमा टेवा पुर्याउनु समेत रहेको आयोजकले जनाएको छ ।