एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारको अन्तिम खेल खराब प्रकाशका कारण स्थगित गरिएको हो । हेल्प नेपालले पहिलो सेट २५-२२ र दोस्रो सेट २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । तेश्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७-२५ को जित निकालेको थियो । त्यसपछि खेल स्थगित गरिएको हो ।
‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने टोली इलिमिनेटर खेल्नेछ । उक्त समूहमा गण्डकी, हेल्प नेपाल र सशस्त्र प्रहरी बल एपीएफ क्लब छन् । यीमध्ये एक टोलीले मात्र इलिमिनेटर खेल्नेछन् । दुई टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् ।
यसअघि भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेको थियो । महिलातर्फ एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-१ को सेटले हराएको थियो ।
पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।