नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८०÷८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८०÷८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले आ.व. २०८०÷८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ (अक्षेरुपी एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र) लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
२०८१ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
यसका साथसाथै कम्पनीले हालसम्म रु.२८८ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने रु. ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।